काठमाडौं- नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव सोमबारदेखि सुरु भएको छ। मण्डला थिएटर नेपालको प्रांगणमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सव उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई ‘कलाप्रेमी’का रुपमा प्रस्तुत गरे। रंगकर्मीहरुलाई आफूले खोजेको बताउँदै उनले भने, ‘म कलाप्रेमी हुँ। प्रधानमन्त्री कलाकारसँगै छ।’
रंगमञ्चको विकास जरुरी रहेको भन्दै उनले आगामी आर्थिक वर्षमा नाटकका लागि बजेट समेत छुट्याइने आश्वासन दिए।
नाटक समय गुजार्ने मेलो नभएर समाजको ऐना र टर्चलाइट दुवै भएको उल्लेख गरे। उनले भने, ‘यो ऐना हो, समाजलाई दुरुस्तै देखाउँछ। यो टर्चलाइट हो, समाजलाई मार्गदर्शन गराउँछ।’
नेपालका सक्रिय ८ नाट्य समूहको सहकार्यमा ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव, २०७५’ आयोजना गरेका हुन्।
‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ भनिएको महोत्सवले सामाजिक समानता र सद्भावलाई बढावा दिनुका साथै रंगमञ्चको माध्यमबाट सामाजिक विषयहरुमा काम गर्न र अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदान गर्न कलाकारहरुलाई प्रेरित गर्ने महोत्सव निर्देशक राजन खतिवडाले बताए।
८ दिन चल्ने महोत्सवमा काठमाडौँका ५ नाटकघरमा १३ देखि २० फागुन २०७५ सम्म ३० वटा स्वदेशी तथा विदेशी नाटक मञ्चन गरिनेछन्।
अनामनगरस्थित मण्डला नाटकघर, कौसी थिएटर (टेकु), गोठाले नाटकघर (बत्तीसपुतली) र थिएटर मल (कीर्तिपुर)मा हरेक दिन फरकफरक नाटकहरु मञ्चन गरिनेछन्।
मञ्चनका अतिरिक्त विविध सांस्कृतिक झाँकीहरु, नयाँदेखि पुराना नाटकका फोटो प्रदर्शनी, दैनिक अन्र्तक्रिया, कवितावाचन, चित्रकला प्रदर्शनी, रंगकर्मीहरुलाई सम्मान र पुरस्कार वितरण लगायत कार्यक्रम समेत आयोजना गरिनेछन्।







सबै तस्बिरः निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।