भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले ल्याएको कार्यक्रम स्थानीय तहरुले कार्यान्वयन नगरेको गुनासो पोखेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतका कार्यक्रम छनोट लगायत प्रक्रिया पालिकाहरुले अगाडि नबढाइदिँदा उनले गुनासो पोखे।
'यो कार्यक्रम स्थानीय सरकारको हो प्रभावकारी ढंगले कार्यान्वयन गर्नुस्,' कार्यालयले सोमबार भैरहवामा आयोजना गरेका मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको अभिमुखीकरण गोष्ठीमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, 'प्रदेश सरकार त सहजकर्ता जस्तो मात्रै हो।'
उनले प्रदेशमा रहेको गरिबी अन्त्य गर्ने योजना स्वरुप मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम आएको बताउँदै ३ वर्षभित्र गरिबी अन्त्य हुने गरी कार्यान्वयन गर्न आग्रह गरे। उनले फागुन महिनाभित्र कार्यान्वयनको लागि प्रक्रिया टुङ्गो लगाएर चैतबाट प्रभावकारी रुपमा कार्यक्रमलाई कार्यान्वयन तर्फ अगाडि बढाउन निर्देशन पनि दिए।
उनले योजनाको परिणामको लागि ३ वर्ष समयवधि रहेको हुँदा प्रभावकारी रुपमा कार्य गरे ३ वर्षभित्र गरिबी अन्त्य हुने दाबी गरे। तर, जनप्रतिनिधिहरु मुख्यमन्त्री कार्यालयले नियुक्त गरेका सदस्यहरुप्रति सशंकित भएर कतिपय गाउँपालिकाहरुले कार्यक्रम छनोट गरेका छैनन्।
यस विषयमा मुख्यमन्त्री पोखरेलले स्पष्ट पार्दै भने, 'हामीले नियुक्त गरेका सदस्यले सहजकर्ताको भूमिका मात्र निर्वाह गर्छन्, उनीहरुसगँ डराउनुपर्ने छैन। निर्णय गर्ने अधिकार त तपाईहरुकै (जनप्रतिनिधि) हो।'
मुख्यमन्त्रीको यस कार्यक्रममा गरिबीको रेखामा रहेका रुपन्देहीका ३ गाउँपालिकासहित प्रदेशका १२ जिल्लाका ३४ वटा गाउँपालिका समेटिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।