काठमाडौं- कृषि उत्पादन र खाद्य सुरक्षामा प्रतिकूल नहुने गरी भू उपयोगसम्बन्धि कानुनी व्यवस्था गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन्।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार काठमाडौंमा आयोजना गरेको ‘भू उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै भूमि विज्ञ बाबुराम आचार्यले कृषि उत्पादन र खाद्य सुरक्षामा प्रतिकूल असर नपर्ने गरी भूमि सम्बन्धि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन्।
'उनले कृषि योग्य जमिन सदुपयोग गर्न तराई, पहाड र हिमाली भेगमा भू उपयोग आयोजनाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु,' भूमि विज्ञ आचार्यले भने।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद एवम् पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले विशेष सुविधा दिएर भएपनि कृषियोग्य जमिनको सदुपयोग गर्न ध्यान दिन सरकारलाई सचेत गराए।
'कृषियोग्य जमिनको सही सदुपयोग गर्ने नीति विगतका सरकारले ल्याउन नसकेको कारण पनि मुलुकमा उर्वर भूमि बाँझो बस्ने समस्या आएको छ,' उनले भने।
विधेयकमा ३ वर्षभित्र पनि खेतीयोग्य जमिनमा बाली नलगाउनेमाथि ३ लाख जरिवाना लिने प्रावधान पनि राखिएको छ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले भूमि सम्बन्धि सबै कामलाई सहज बनाउन प्रविधिको विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरिन्। सबै स्थानीय तहमा प्रविधि हस्तान्तरण गरेर भूमि व्यवस्थापनको कामलाई सहज बनाउने मन्त्री अर्यालको योजना छ।
मन्त्री अर्यालले खेतीयोग्य जमिनको सक्दो सदुपयोग गर्न बाध्य बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।