जनकपुर- प्रदेश २ को राजधानी जनकपुरधाममा दोस्रो जनकपुर साहित्य तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना हुने मिति तय भएको छ। फागुन १८ गतेदेखि हुने सो महोत्सव मैथिली विकास कोष जनकपुरधामको आयोजनामा हुन लागेको हो। ६ दिवसीय महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ आयोजकले जानकारी दिएको छ।
कोषले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न देशका नाट्य संस्थाको सहभागिता रहने समेत उल्लेख गरेको छ।
महोत्सवमा नाट्य प्रदर्शनका साथै मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामाकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे विज्ञहरूबीच संवाद तथा छलफल हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए।
‘महोत्सवमा मिथिला र मैथिलीमा केन्द्रित भई सांस्कृतिक कार्यक्रमका साथै पुस्तक प्रदर्शनी, लोककला र ललितकलासमेत प्रदर्शन गरिनेछ,' अध्यक्ष चौधरीले भने।
१८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।