धनकुटा- प्रदेश १ को धनकुटा र मोरङ जिल्लामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका-८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा ना४त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो बाटोमा ब्याक गरेर फर्काउने क्रममा अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका-८ बस्ने वर्ष २७ का बालकुमार पुलामी मगर र ट्याक्टरमा सवार वर्ष ११ का अनिल मगरको घटनास्थलमा नै मृत्यु भएको हो। वर्ष ३८ का छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घाइते मगरकाे स्थानीय स्वास्थ्य चौकी सिधुवामा उपचार भइरहेकाे छ।
त्यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ। बेलुका ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी सोही स्थान बस्ने वर्ष ३२ की माया तामाङलाई किचेको थियो।
दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ। शव परिक्षणको लागि मंगलबारे अस्पताल उर्लाबारी पठाइएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।