बुटवल- बुटवल उपमहानगरपालिकाको-४ स्थित मुख्य व्यापारिक केन्द्र अमरपथकाे शङ्कर प्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब १ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट सो भवनमा सञ्चालित विन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा १ करोड रुपैयाँ बढीको नोक्सान भएको प्रहरीले जनाएको छ।
राति करीब १० बजेदेखि लागेको आगो मध्यराति करीब १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।
शङ्कर प्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो। आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए।
उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि उक्त पसलबाट नै आगलागी सुरु भएको प्रहरीको अनुमान छ। पसलमा रहेको विद्युत लाइन सर्ट हुनाले आगलागी भएकाे हुनसक्ने प्रहरी अनुमान छ।
बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिकालगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।