ढाका- बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एयरलाइन्सकाे विमान अपहरण गराउन खाेज्ने संदिग्ध एक युवा मारिएका छन्। आइतबार बंगलादेशकाे विशेष सुरक्षा फाैजकाे कारबाहीमा उनी मारिएकाे सुरक्षा अधिकारीहरुले बताएका छन्।
२५ वर्षीय ती युवाले पेस्ताेल देखाएर विमान अपहरणकाे प्रयास गरेका थिए। मारिने ति व्यक्ति विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेकोमा चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ।
बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार 'बिजी-१४७' नम्बरको युएईकाे दुबईका लागि उडेकाे 'बोइङ-७३७' विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, चित्तागाेंगमा आकस्मिक अवतरण गराइएको थियाे।
ढाकाबाट दुबईका लागि उडेको करीब दुई घण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त विमानस्थलमा साँझ ५ः४० मा विमान अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ।
प्राप्त पछिल्लो जानकारीअनुसार विमानमा रहेका सबै १ सय ४८ यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले बताए।
तर, विमान किन अपहरण गर्न खाेजिएकाे हाे भन्ने सम्बन्धमा केही पनि खुल्न नसकेकाे एक सेनाका अधिकारी जानकारी दिए। विमान अवतरणपछि गरिएकाे सुरक्षा कारबाहीमा ती संदिग्ध व्यक्ति पहिले घाइते भएकाे समाचार संस्था एएफपीले लेखेकाे छ। 'हामीले उसलाई पहिले नियन्त्रणमा लिने प्रयास गरका थियाैं', सेनाका मेजर गेन माेतिउर रहमानलेे भने, 'हामीले आत्मसमर्पणका लागि गरेकाे आग्रह उनले नकारेका थिए। साेपश्चात्काे सुरक्षा समंवेदनशिलतालाई मध्येनजर गर्दै उनीमाथि गाेली प्रहार गरिएकाे थियाे।'
प्रारम्भिक अनुसन्धानका अनुसार मारिने व्यक्ति मानसिक रुपमा केही असन्तुलित रहेकाे र उनी बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग सम्वाद गर्न चाहन्थे। उनी विमान अवतरण गरिएकाे चित्तागाेंगकै स्थानीय रहेकाे खुलेकाे छ।
विमान अपहरणबारे हालसम्म कसैले पनि आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
'अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ', आइएसपिआरका अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।