जनकपुर– रौतहटको चन्द्रपुर नगरपालिकामा प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुँदैछ।
प्रदेश २ मा पहिलो पटक यति ठूलो प्रतियोगिताको आयोजना हुन लागेको हो। फागुन १७ र १८ गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल स्मृति रंगशालामा हुने प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश, नेपालका सात वटै प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको तयारी पूरा भएको आयोजक सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले बताए। विभिन्न तौल समूहमा खेलमा प्रतिष्पर्धा गर्ने छन्।
‘प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘अब हामी विदेशी पाहुना खेलाडीलाई स्वागत गर्न आतुर छौँ,’ चार देशका खेलाडीहरू २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि भिड्ने अध्यक्ष पहाडीले बताए।
आयोजक टिमसहित नेपालका ८ टिमको सहभागिता रहने बताइएको छ। चन्द्रपुर नगरपालिका मुख्य सहयोगिका रूपमा रहेको भने टेन्सवर्ग बियर सहप्रायोजक रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विदेशी खेलाडी र निर्णायक गरेर करिब ४ सय जनाको सहभागिता रहनेछ। प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट हुने एकएक जनालाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २० लाख रकम खर्च हुने पहाडीको अनुमान छ। चन्द्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ठूलो रकम सहयोग गरेको छ।
प्रतियोगितामा भारतको करिब १० वटा प्रान्तका खेलाडीको सहभागिता रहनेछ। स्थानीय राजनीतिक दलले यसलाई उत्सवका रूपमा लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।