काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले आगामी मार्च २६ (चैत्र १२ गते) मा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ। सयम र स्थान भने टुंगो लागेको छ।
सो खेल नेपालका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनका लागि पहिलो परीक्षा हुनेछ। कालिकले पनि मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल आफ्नो लागि पहिलो परिक्षा हुने बताए। 'मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल मेरा लागि पहिलो टेस्ट हो,' कलिनले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए।
उनले आफ्नो जिम्मेवारी नेपाली फुटबलको विकास गर्ने बताउँदै आगामी २ वर्षमा सारात्मक सुधार गर्ने बताए। साथै उनले दुई वर्षभित्र हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल्ने पनि बताए। उनले भने,'सबैको लक्ष्य उपाधि जित्ने त भइहाल्छ। तर मेरो लक्ष्य भनेको साफका लागि राम्रो तयारी गर्नु र उत्कृष्ट खेल्ने हुनेछ।'


नेपाली टिमको तयारी केहि दिनमै सुरु हुने प्रशिक्षक बालगोपाल महर्जनले बताए। यू–२३ टिमको जिम्मेवारी पाएका महर्जनले राष्ट्रिय टिम र यू–२३ टिमको छुट्टा छुट्टै तयारी गर्ने जानकारी दिए। दुवै टिमका लागि सुरुमा कम्तिमा ३५–३५ जना खेलाडीलाई बोलाइनेछ। नेपालले मैत्रीपूर्ण खेल खेल्ने समयमा एएफसी यू–२३ को छनोट खेल कतारमा हुँदैछ। छनोटको समूह 'ए' मा रहेको नेपालले आयोजक कतारसहित अफगानिस्तान र ओमानसँग भिड्नेछ।
बिहीबार नेपाल आइपुगेका कलिनलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टिलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महिना दिएको थियो। सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन्। अहिले उनको श्रम स्विकृती लिने प्रक्रिया अघि बढिरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। श्रम स्विकृतीपछि सम्झौताको विवरण सार्वजनिक गर्ने शेर्पाको भनाइ छ।
यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो। पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काम गर्दै आएका थिए। गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन्। उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो।
कलिनले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो। कलिनले स्वीडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।