प्योङयाङ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्।
उनी रेलमा चढेर भियतनाम गएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक गर्ने तय भएको छ। उनीहरूबीचको पहिलो शिखर बैठक गत वर्षको जुनमा सिङ्गापुरमा भएको थियो।
भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई गएका हुन्।
किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी भएको समाचारमा जनाइएको छ।किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्नु हुनेछ।
यसैबीच, उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेर सोधपुछपछि रिहा गरिदिएको छ।
किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले सोधपुछ गरेर रिहा गरेको हो।
दुवै जनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताएका छन्।
दुई नेताको शिखर बैठक हुनु अगाडि नै ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेको अधिकारीहरूले जनाएका छन्।
किमको नक्कल गर्ने हावर्ड एक्स खासमा हंकङ बासिन्दा रहेको जनाइएको छ।
उनीहरूले उत्तर कोरियाको परमाणु महत्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।