काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा चर्किएको ३२ वर्षे हदबन्दीको विषयले पार्टी कार्यालयमा झडप निम्त्याएको छ।
आइतबार उमेर हदबन्दीका पक्ष र विपक्षमा विद्यार्थी नेताहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।
निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षका विद्यार्थी नेताले उमेर हदको विपक्षमा प्रदर्शन गर्दा झडप भएको हो।

नाराबाजीका क्रममा दुबै पक्षबिच ढुङ्गा हानाहनसमेत भएकाे छ।
दुबै पक्षले कार्यालय प्रवेश गर्न खाेज्दा झडप भएकाे छ। साे क्रममा प्रहरीले लाठी चार्ज गर्दै विद्यार्थीहरुलाई तितरवितर पारेकाे छ। प्रहरीको हस्तक्षेपपछि दुवै समूह केन्द्रीय कार्यालय हातामा प्रवेश गर्न पाएनन्।
झडपमा केही विद्यार्थी घाइते भएकाे बताइए पनि संख्या भने यकिन हुन सकेकाे छैन।

३२ वर्षे उमेर हद लगाई तदर्थ समिति बनाउनु पर्ने निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको समूहले माग गरेकाे छ।
झडपका कारण कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा र कार्यालय सचिव डा प्रदीप पराजुलीले संयमित हुन विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन्।
हेर्नुस् भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।