पर्वत- कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ। नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो।
पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन्। पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५ सय सर्वसाधारण आवातजावत गर्दै आएका छन्। पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक/एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको श्रेष्ठले बताए।
तर यसपटक २५ महिनापछि मात्रै लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउनुभन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए। पुल मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान छ। भारतबाट सोमबारसम्ममा प्राविधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारण एक घण्टाको घुमाउँरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गे पुलको प्रयोग गरी आवातजावत गर्न बाध्य भएका छन्। यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन्। पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन्।
यो पुल कुश्मा–बलेवा यान्त्रिक पुल २०६८ मा करीब ४ करोड रुपैयाँको लागतमा बनाइएको हो। एक डब्बामा एक पटकमा ८ जना गरी दुई वटा ८ डिब्बामा १६ जना मानिस आवातजावत गर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।