कोलम्बो- श्रीलङ्काको गत वर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा १७ वर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैंकले जनाएको छ।
सन् २०१८ का लागि ५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भए पनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझपटीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३.० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नर इन्द्रजीत कुमारास्वामीले बताए।
राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई गत अक्टोबरमा बर्खास्त गरी संसदको विघटन गर्ने निर्णयका कारण श्रीलङ्कामा गत बर्ष केही समय अन्यौल छाएको थियो। यद्यपि सिरिसेनाको कदमलाई बल दिन संसदमा बहुमत नहुँदा विक्रमेसिंघे पुनः प्रधानमन्त्री बनेका थिए।
संसदले राष्ट्रपतिको कदमलाई अनुमोदन नगरेपछि श्रीलङ्काको अदालतले डिसेम्बरमा सिरिसेनाको कदमलाई असंवैधानिक तथा गैरकानुनी भन्दै विक्रमासिंघेलाई फिर्ता गर्न आदेश गरेको थियो।
वैदेशिक पुँजीको अवस्था गत वर्षको तुलनामा राम्रो बन्दै गएको र राजनीतिक स्थायित्व पनि देखिएकाले सन् २०१९ मा आर्थिक वृद्धिदर पहिलेको अवस्थामा पुग्ने अनुमान रहेको बैंकका गभर्नर कुमारास्वामील बताए।
'समग्रमा यो बर्ष हामी राम्रो स्थानमा छौं,' उनले भने, 'यो बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा जनतालाई प्रलोभनमा पार्न ल्याइने कार्यक्रमले आर्थिक वृद्धिदरलाई खस्काउन पनि सक्ने अवस्था आउन सक्छ।'
श्रीलङ्काले वैदेशिक ऋण लिन चाहे पनि यहाँको जटिल अवस्थाका कारण ऋण योजना विफल बनेको थियो।
सरकारले सन् २०१६ देखि सुरु भएको तीनवर्षे एक अर्ब ५० करोड अमेरिकी डलरको कर्जा कार्यक्रमलाई व्युँताउन वार्ता सुरु गरे पनि अन्तर्राष्ट्रिय मुद्रा कोषका स्थगित कार्यक्रमहरूलाई ल्याउन श्रीलङ्का प्रयासरत छ।
सन् २००१ मा तत्कालिन तमिल विद्रोहीले आधा दर्जन श्रीलङ्काको अन्तराष्ट्रिय विमानस्थलमा आक्रमण गरी करिब आधा दर्जन विमानलाई क्षति पुर्याएपछि पर्यटन क्षेत्रमा परेको प्रभावका कारण श्रीलङ्काको आर्थिक वृद्धिदर १.२५ प्रतिशतमा खुम्चिएको थियो। तर तामिल आन्दोलनको अन्त्यसँगै सन् २००९ पछि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको थियो जुन गत बर्षको राजनीतिक खिचातानीका कारण पुनः खुम्चिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।