काठमाडौं- नेकपाको सांगठनिक एकीकरणको निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ।
कार्यदलको म्यादबारे निर्णय लिन आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बिहीबार बसेको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा 'बादल'ले अपुराे प्रतिवेदन पेस गर्दै एक हप्ताकाे समय थप गर्न माग गरेका थिए। पार्टीको सांगठनिक एकताको खाका तयार पार्ने क्रममा विवाद भएपछि सो जिम्मेवारी सचिवालय आफैंले गर्ने गरी कार्यदल विघटन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
कार्यदलको काम सचिवालय आफैंले गर्ने र स्थायी समिति बैठक बोलाएर निर्णय लिने गरी कार्य दल विघटन गरिएको उनकाे भनाइ छ। बैठकले सचिवालयले सोसम्बन्धी प्रस्ताव तयार पारी स्थायी समिति बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ।
पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए।
गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो। उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।