मेलम्ची- जुगल हिमाल पहिलोपटक आरोहण हुने भएको छ। सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ।
जुगल गाउँपालिका र प्रदेश ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइएकाे हाे। आरोहण अवधि कम्तीमा २० देखि ३० दिनसम्म हुन सक्ने बताइएकाे छ।
कार्यक्रममा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिलेसम्म कसैले पनि आरोहण नगरेको जानकारी दिइन्। सगरमाथा आरोही गुरुङले जुगल हिमशृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको ‘भर्जिन’ क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारणलगायतका कार्यमा पनि केन्द्रित हुने जानकारी दिइन्। उनका अनुसार सो टोलीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञसहित ७ जना रहनेछन्।
जुगल हिमशृङ्खलामा २ दर्जन बढी हिमचुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। उनले जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशाल धार्मिक दृष्टिले पवित्र स्थान भएको बताए।
सो स्थानमा बौद्ध धर्मका गुरु पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुनसक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखतहरू यस क्षेत्रमा सुरक्षित राखिएको किंवदन्ती रहेको उनले जानकारी दिए। अध्यक्ष श्रेष्ठले नेपेमाशाल नजिकै रहेको ब्रह्मायणी नदी, हरियाली जङ्गल, जङ्गलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमशृङ्खलाको सुन्दरतम दृश्यले जो कोहीलाई मोहित बनाउने दाबी गरे।
उनले गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडि बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा पदयात्रा जान चाहनेका लागि जुगल उत्कृष्ट गन्तव्य हुनसक्ने जानकारी दिए। श्रेष्ठले भ्रमण वर्ष २०२० का लागि सूचीकृत गन्तव्यका रूपमा सो क्षेत्रलाई राख्न पनि सम्बद्ध निकायसमक्ष आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।