जनकपुर– शिक्षाका लागि प्रदेश २ सरकारले सन्चालन गरेको ‘ बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रमको औपचारिक सुरुवात भएको छ।
आज वीरगन्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माघ १ गते यता जन्मिएका मध्ये १४ जना छोरीहरूलाई बिमा कार्ड हस्तान्तरण गरिन्।
कार्यक्रममा राष्ट्रपति भण्डारीले गत माघ २१ गते जन्मिएकी आकृति र उनकी आमा सकुन्तलालाई पनि १ लाख २५ हजार रुपैयाँको बिमा कार्ड हस्तान्तरण गरेकी हुन्।
अभियान अन्तर्गत माघ १ गते यता जन्मिएका छोरीहरूको शिक्षाका लागि १ लाख २५ हजार रुपैयाँको बिमा गरिदने भन्दै छोरी शिक्षा बिमा कार्यक्रम ल्याउने घोषणा गरेको थियो।
प्रदेश सरकारले अभियान अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रमका लागि प्रभु बैंक लिमिटेडसँग सम्झौता गरेको छ।
बैंकसँग गरिएको सम्झौता अनुसार प्रदेश सरकारले प्रदेश २ मा जन्मिने हरेक छोरीको नाममा बैंकमा खाता खोलेर उक्त खाता बिमाको प्रिमियर रकम बापत १३ हजार ६ सय ४६ रुपैयाँ जम्मा गर्नेछ।
२० वर्षको उमेर पुगेपछि ती छोरीलाई बैंकले बिमा बापतको १ लाख रुपैयाँ र त्यसमा आफनो तर्फबाट २५ हजार रुपैयाँ थप गरी कूल १ लाख २५ हजार रुपैयाँ प्रदान गर्ने, बैंक र प्रदेश सरकार बीचको सम्झौतामा उल्लेख छ।
पहिलो चरणमा प्रदेशका ८ वटै जिल्लामा एक एक वटा गरी कूल ८ वटा पालिकामा मात्र छोरी शिक्षा बिमा कार्यक्रम लागू गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो।
अभियानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले छोरीहरूको शिक्षाका लागि प्रदेश २ सरकारले सुरु गरेको बिमा कार्यक्रमले शिक्षामा छोरीहरूको पहँुच बढ्ने बताइन्।
राष्ट्रपति भण्डारीले भनिन् , ‘यो अभियानलाई मैले छोरीहरूको सम्मान र महत्व बुझ्ने अभियानका रुपमा लिएको छु, यो अभियानले समाज मात्र नभई समग्र देशकै विकासमा टेवा पुग्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।