राजविराज– प्रदेश २ मा राजधानी र भाषाको विषय अन्यौलपूर्ण रहेका बेला मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा मैथिलीका लागि लोकसेवाको प्रश्नपत्र समेत मैथिलीमै तयार गर्न माग गरिएको छ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली साहित्य परिषद्ले बिहीबार राजविराजमा आयोजनाको गरेको ‘मैथिली साहित्यिक गोष्ठी’ मा उपस्थित मैथिली अभियानीहरूले यस्तो माग गरेका हुन्।
मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन एकजुट भएर लाग्नुपर्नेमा समेत उनीहरुले जोड दिए। मैथिली महासंघका अध्यक्ष विष्णु मण्डलले प्रदेशका अधिकांश बासिन्दाको बोलीचालीको भाषा मैथिली भएकाले त्यसको विकल्प खोज्न नहुने बताए।
आफ्नै लिपी, संस्कृति र पहिचान बोकेको मिथिला र प्रदेशको कामकाजको भाषा मैथिली नै बनाउनुपर्ने उनको भनाइ छ।
मैथिली भाषालाई भर्याङ बनाएर राज्यका महत्पूर्ण पदमा पुगेका राजनेताले नै सो भाषालाई उपेक्षा गरेको भन्दै उनले आक्रोश पोखे।
‘पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषालाई बिर्सिने दल र नेताका कारण मैथिली भाषाको अपमान भयो,’ मण्डलले भने, ‘त्यस्तालाई अब बहिष्कार वा मार्गदर्शन के गर्नु पर्ने हो, सोच्ने बेला आएको छ।’
पूर्वशिक्षिका मञ्जु श्रेष्ठले मैथिली भाषाको विकास, संरक्षण र समृद्धिका लागि विद्यालयको प्रारम्भिक तहमा अनिवार्य अध्ययन/अध्यापनको व्यवस्था, माद्यमिक तहमा ऐच्छिक विषय र मैथिली भाषीका लागि लोकसेवामा मैथिली भाषामै प्रश्न सोध्ने व्यवस्था मिलाउनुपर्ने बताइन्।
कार्यक्रममा राजनितिक विश्लेषक अमरकान्त झा, मैथिली साहित्य परिषद्का अध्यक्ष अशोक झा, सचिव श्यामसुन्दर यादवले पनि प्रदेशमा मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिलाउन राजनितिक दल र तिनका नेतृत्वलाई दबाब दिनुपर्ने बताए।
प्रदेश २ मा मैथिली भाषा सर्वाधिक बोलिचालीको भाषा हो।
प्रदेशमा २४ लाख ४७ हजार ९ सय ७८ मैथिली, १० लाख ३ हजार ८ सय ७३ भोजपुरी, ७ लाख ९१ हजार ६ सय ४२ बज्जीका, ३ लाख ६० हजार २ सय ७६ नेपाली, ३ लाख १० हजार ६ सय ७२ उर्दू, ३१ हजार ४८ मगही र ८ हजार ६ सय २५ हिन्दीभाषीको बसोबास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।