ढाका– बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परि कम्तीमा ७० जनाको ज्यान गएको छ।
राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो। राति भएको भीषण आगलागीमा परि ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौं व्यक्ति जलेर घाइते भएका छन्।
जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन्। उनीहरुलाई अस्पताल पुर्याइएको र तीमध्ये कैयौंको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ।
ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्यासको सिलीण्डर विस्फोट भएको थियो। त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो।
राजधानी ढाकाको पुरानो बस्तीतिरको क्षेत्र भएकोले घर जोडिएर रहेका र जसका कारण एकपछि अर्काे घरमा आगो फैलिएको थियो।
यसरी फैलिएको आगोका कारण यहाँका कैयौं घर सिकार भएका थिए। कैयौं घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ।
ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन्।
उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्काे घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए।
बुधबार राति करिब १० बजेतरि उक्त आगलागी सुरु भएको थियो। आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो। आगो नियन्त्रणमा लिन मध्यरातिसम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो।
उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन्। आगोको मुस्लो बढ्दै जाँदा अर्काे घरमा सल्किन पुगेको थियो।
सो आगलागनी नियन्त्रणका लागि ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए।
अग्नि नियन्त्रकहरूले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ।
ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ। उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ।
हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।