काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा पार्टीकाे सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल हुने बताइएकाे छ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले कार्यदलले बुझाएको 'अपूर्ण' प्रतिवेदनमाथि छलफल गरेको थियो। साे बैठकले छलफललाई जारी राख्दै सचिवालयको अर्को बैठकमा कार्यदलका सम्पूर्ण सदस्यहरुलाई आमन्त्रण गर्ने निर्णय गरेकाे थियाे।
आजकाे बैठकपछि नै पार्टीकाे सांगठनिक एकीकरणको प्रक्रियालाई कसरी टुंगो लगाउने भन्ने बारेमा आवश्यक निर्णय गरिने नेकपाले बताएकाे छ।
गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलको संयोजकमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए।
कार्यदलले आफ्नो प्रतिवेदन तयार नगर्दै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। तर, गत साेमबारमात्रै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएर साेका सम्बन्धमा छलफल सुरु भएकाे हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।