पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौंडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो।
उनीहरूलाई पोखरा महानगरपालिका–५ पर्स्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरिद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उनले जानकारी दिए।
ग१४प २५४ नंको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उनले उनीहरूले पोखराको विभिन्न २ सय स्थानमा नोट साटेको जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक/एक थानसहित १ हजार दरका १९ थान नक्कली नोट र रु १ लाख २८ हजार ४ सय ३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।