काठमाडौं– प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका प्रहरी अधिकारीलाई प्रहरी महानिरिक्षक (आइजिपी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
नेपाल सरकार, गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले बढुवा भएका एसएसपी र एसपीलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी प्रदान गरिएको हो।
एसपीबाट एसएसपी १३ जना र डिएसपीबाट एसपीमा २६ जना प्रहरी बढुवा भएका थिए। दर्ज्यानी चिह्न प्रदान गर्दै आइजिपी खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारितासहित प्रहरी कर्मचारीहरू सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्ने बताए।
राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधिविरुद्ध कानुनी कारबाही गर्न प्रहरी कर्मचारीहरू अझै एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावनाअनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, 'उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस्।'
संगठनलाई पुर्याएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको उनले चर्चा गरे।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिले आफूहरूमा थप उर्जा सञ्चार भएको उल्लेख गर्दै सामूहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।