काठमाडौं– सत्तारुढ संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले सरकारले व्यतित गरेको एक वर्षमा मन्त्रीहरुमात्रै समृद्ध भएको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले भ्रष्टचार बढेको भन्दै आपत्ति व्यक्त गरे।
'सरकारले एक वर्ष पूरा गर्यो। सरकारको लक्ष्य थियो, नेपालीलाई सुखी बनाउने र नेपाललाई समृद्ध बनाउने', उनले भने, 'तर, नेपाली सुखी कहिले हुन्छ? यो एक वर्षमा मन्त्रीहरु समृद्ध भइसके, नेपालीहरु पनि धेरै दुखी भइसके।'
यादवले राजीनामा दिएका अख्तियारका आयुक्तमाथि कारबाही प्रक्रिया तिब्र गतिमा अगाडि बढेको तर वाइडबढी जहाजबारे सबै चुप लागेको बताए। 'वाइडबडी जहाजमा ठूलो भ्रष्टाचार भयो। तर यो भ्रष्टाचारमा सरकार किन चुप लागेर बस्यो?', उनले प्रश्न गरे।
'सार्वजनिक लेखा समितिले गोलमाल गरेर पनि केही प्रतिवेदन पठायो। महिनौं बित्यो, तर सरकारले त्यसलाई सार्वजनिक गरको छैन। अख्तियारले पनि सार्वजनिक गरेको छैन', उनले सोधे, 'यो के हो, मैले बुझिरहेको छैन। जनता निराश भइसके। वाइड बडीमा भ्रष्टाचार भइसक्दा पनि न सरकार पक्षको कोही बोल्छ, न प्रमुख प्रतिपक्षको कोही बोल्छ।'
उनले प्रतिपक्षी दलप्रति पनि असन्तुष्टि व्यक्त गरे। 'दुई जना नेताको नामको अस्पतालको विषयमा १५ दिन संसद अवरुद्ध भयो तर वाइडबडीमा कसैले एक दिन पनि टेबल ठटाएको छैन। यो के भइरहेको छ? हामी अलमलमा परिरहेका छौं', उनले भने।
'सुगतरत्न कंसकार भ्रष्टाचारी हुन्, भ्रष्टाचारको नायक हुन् भन्ने प्रमाणित भइसकेको छ। मन्त्री पनि झन्डा फरफराएर घुमिरहेका छन्। तर सरकारले उसलाई कारबाही गरेको छैन, निलम्बन गरेको छैन। अहिलेसम्म मजाले घुमिरहेका छन्', उनले भने।
भ्रष्टाचारको अवस्था यस्तै रह्यो भने देशमा अधिनायकवाद आउने उनले बताए। 'यस्तो स्थिति रह्यो भने र भ्रष्टाचारीलाई यसैगरी उन्मुक्ति दिने हो भने देशमा भयावह स्थिति आउँछ', उनले थपे, 'सांसद र सरकारप्रति जनतामा भरोसा उड्छ। देशमा अधिनायकवाद आउन सक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।