वीरेन्द्रनगर- कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४ सय ५३ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेका छन्।
मङ्गलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले महिला बढी प्रभावित भएको जनाएको छ। विभिन्न घटनामा ३ सय ५३ महिला तथा १ सय ४९ पुरुष पीडित भएको पाइएको छ। इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी महिला अधिकारसम्बन्धी घटना घटेका छन्।
महिला अधिकारसम्बन्धी २ सय ५७, बाल अधिकारसम्बन्धी ८७ र कुटपिटका ४७ घटना केन्द्रमा दर्ता भएका छन्। ति घटनामा ६ जना घाइते, अमानवीय व्यवहारबाट चार जना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ।
मानवअधिकारको बाधक मदिरा
कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले मानवअधिकार उल्लङ्घनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने बताए।
मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको मात्र कार्यान्वयन गर्न सकेमा धेरै हदसम्म हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ छ। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार उल्लङ्घनको अवस्था भयावह रहेको भन्दै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु मानवअधिकार हननको घटना भएकाले यसको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।