इस्लामाबाद- विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टि गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ।
घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनमार्फत मङ्गलबार गरेको सम्बोधनमा भारतलाई काश्मिर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका हुन्।
साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उनले भारतले आफूहरुमाथि आक्रमण गरेमा आफूहरु पनि प्रतिकार गर्न तयार रहेको बताए।
गतहप्ता भारत प्रशासित काश्मिरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि सो घटना पाकिस्तानले गराएको भारतको आरोप छ।
पाकिस्तानी भूमिबाट सञ्चालित भनिएकाे लडाकू सङ्गठन 'जैश ए मोहम्मद'ले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टि गर्न चुनौती दिएका हुन्।
विनाप्रमाण दोष नलगाउन पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारत पक्षलाई आग्रह गरे। उनले भने, 'भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्नेछ र प्रतिकार पनि गर्नेछ।'
काश्मिर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउदै उनले पाकिस्तान आफैं स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारे।
उनले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न आह्वान पनि गरे। त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ।
सन् १९४७ मा विभाजन भएदेखि नै दुबै देशले काश्मिर आफ्नो अधिनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्। काश्मिरको केही भू-भाग पाकिस्तान र केही भारतको अधीनमा छ।
आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ।
बिहीबारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ।
छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५ सय सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो।
मसुद अजहरको नेतृत्वमा रहेको 'जैश ए मोहम्मद' आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ। तर, पाकिस्तानले भने साे आराेप अस्वीकार गर्दै आएको छ।
काश्मिरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवा भएको बताइएको छ। केही वर्षयता धेरै काश्मिरी युवा लडाकू सङ्ठनमा प्रवेश गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।