काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले विभिन्न ५ वटा संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाइ सुरु गरेको छ।
संसदीय सुनुवाइ विशेष समितिले मंगलबारबाट संवैधानिक परिषदले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा. शान्तराज सुवेदीको सुनुवाइ गरेको हो।
सुनुवाईको क्रममा दुवै आयोगका प्रस्तावित अध्यक्षद्वय पौडेल र सुवेदीले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाको वितरण समितिमा पेस गरेका थिए। संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका उनीहरुले तोकिएको काम, कर्तव्य र अधिकार पूरा गर्ने उल्लेख गरेका थिए।
'तीन वटै तहको वित्तीय अन्तर्सम्बन्ध सहज बनाउन सहजकर्ता, सहअस्तित्व र समन्वय गर्ने र संविधानले निर्दिष्ट गरेको जिम्मेवारी कार्यसम्पादन गर्नेछु,' राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष पौडेलले भने।
त्यसैगरी समितिको बैठकमा राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष सुवेदीले पछाडि परेका समुदाय र भूगोललाई अघि बढाउने गरी आयोगको काम अघि बढाउने योजना सुनाए।
'पछाडि परेका समूदायलाई अघि बढाउन आर्थिक क्षेत्रको विकासमा जोड दिन आवश्यक योजना बनाउने काममा जोड हुनेछ। अर्थ मन्त्रालय सम्हालेकाले आफ्नो अनुभव आयोगका लागि उपयोगी हुने विश्वास गरेको छ,' प्रस्तावित अध्यक्ष सुवेदीले भने।
समितिले मधेशी आयोगका अध्यक्षका प्रस्तावित डा. विजयकुमार दत्त र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाइ भने आगामी बिहीबार ९ गते बस्ने बैठकमा गर्ने निर्णय पनि गरेको छ।
समितिका सभापति लक्ष्मणलाल कर्णले दत्त र थारुको सुनुवाइ बिहीबार बस्ने समितिको बैठकमा हुने जानकारी दिए।
समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीमाथि परेको नागरिकतासम्बन्धि उजुरी भने छानबिन गरेर आवश्यक निर्णय लिने पनि स्पष्ट पारेको छ।
गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न ५ वटा संवैधानिक आयोगका पदाधिकारी सिफारिस गरेको थियो।
सुनुवाइमा प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभई गरिएको निर्णय भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुनुवाइ बहिष्कार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।