राजविराज– राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले केपी ओली नेतृत्वको सरकारले आश्वासनअनुसार काम गर्न नसकेको अरोप लगाएका छन्।
राजपा नेपाल सप्तरीको राजविराज–७ स्थित नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न मंगलबार सप्तरी आएका यादवले सरकारको काम सन्तोषजनक नभएको प्रतिक्रिया दिए।
‘आश्वासन अनुसार कामको प्रगति कतै देखिएको छैन,’ उनले भने, ‘देशको आर्थिक अवस्था ध्वस्त भएको छ। शान्तिसुरक्षामा पनि सरकार असफल भयो।’
मुलुकमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार बढेर गएको तथा जनविश्वास घटेर गएको भन्दै उनले सरकार सबै क्षेत्रमा असफल भएको बताए।
लोकतन्त्र र संघीयता बलियो बनाउन लाग्नुपर्ने सरकार संघीयता असफल बनाउने खेलमा लागेको उनको आरोप छ। ‘हिजोसम्म जिल्ला–जिल्लामा हुने काम अहिले अर्को जिल्ला धाउनुपर्ने अवस्था छ,’ उनले थपे, ‘डिभिजन कार्यालयका नाममा दुई जिल्ला हेर्ने गरी खोलिएका सरकारी कार्यालयले संघीयताको मर्ममा प्रहार गरिरहेको छ।’
यस्ता गतिविधि संघीयता विरोधी भएको टिप्पणी गर्दै तत्काल सच्याउन र जनतालाई पायक पर्ने गरी सरकारी संरचना तयार गर्न उनले सुझाव दिए।
जनभावन विपरीत अघि बढिरहेको सरकार पछिल्लो समय जनबोली बन्द गर्ने र विरोधका स्वर दबाउने खेलमा लागेको उनको भनाइ छ।
गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत बन्द गराएर सरकारले गल्ती गरेको यादवले प्रतिक्रिया दिए। ‘लोकतन्त्रमा सबै जनताको स्वतन्त्र अधिकार छ,’ उनले भने, ‘त्यसलाई बन्देज लगाउनु कदापि सही होइन।’
माग पूरा नभएसम्म राजपा सरकारमा जाँदैन
नेता यादवले संविधान संशोधनमार्फत् मधेश आन्दोलनको माग पूरा नभएसम्म राजपा सरकारमा नजाने बताए। जनताको चाहनाअनुसार नै विभिन्न टुक्रामा बाँडिएका पार्टी एक भएर राजपा नेपाल बनेको स्मरण गर्दै उनले जनताको अधिकार पूरा नभएसम्म राजपा सरकारमा नजाने दृढता व्यक्त गरे।
‘हामीले संविधान संशोधन लगायत झुट्टा मुद्दा फिर्ता, जेलमा रहेका आन्दोलनकारीको रिहाइ लगायतका माग गरेका छौँ,’ उनले भने, ‘त्यो माग पूरा नभएसम्म सरकारमा जाने कुरा सोच्न पनि सकिँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।