भद्रपुर- मानव बेचबिखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ।
नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए।
मणिपुरबाट म्यानमार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए।
उद्धार गरिएकामा १ सय ४७ महिला र ३२ पुरुष छन्। उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रजिअ जनकराज दाहालले बताए। उनीहरुलाई साेमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र मंगलबार बिहान सम्ममा पूर्वीनाका काँकडभिट्टा ल्याइपुर्याउने उनले जानकारी दिए।
प्रजिअ दाहालका अनुसार काँकडभिट्टा ल्याइपुर्याएलगत्तै ६ बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनर्स्थापना गृहमा पठाउने तयारी गरिएको छ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताए।
उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।