काठमाडौँ- संघीय सरकारप्रति प्रदेश मुख्यमन्त्रीहरुले असन्तुष्टि जनाएका छन्।
उनीहरुले संघीय सरकारले संघीयता आत्मसात गर्न नसक्दा काम गर्न कठिन भएको आरोप लगाए।
सोमबार काठमाडौंमा आयोजित ‘कान्तिपुर कन्क्लेभ’को बहस सत्रमा बोल्दै उनले संघीय सरकारप्रति यस्तो असन्तुष्टि जाहेर गरेका हुन्।
प्रदेश, १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले संवैधानिक अधिकार दिन नसक्दा प्रदेश सरकारले कामलाई तीव्रता दिन नसकेको बताए।
‘हामीले गर्न सक्छौं भन्दा पनि संघले पत्याएको जस्तो देखिएन,’ उनले भने, ‘तर त्यसो हुँदा पनि यो एक वर्षको अवधिमा संघीयताका केही आधारहरु खडा भएका छन्।’
प्रदेश, २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार कमजोर हुने डरले संघीयताको मर्मअनुसार काम हुन नसकेको आरोप लगाए।
‘हिजो संघीयता मन नपराएको व्यक्तिले संघको नेतृत्व गरेकोले पनि केही समस्या देखिएको हो जस्तो मलाई लाग्छ,’ उनले भने, ‘संविधान बनाउँदै गर्दा संघीयताको विरोध गरिरहेको व्यक्ति नै संघमा रहेकोले संघीयताको मर्म अनुसारको काम नभएको हो।’
त्यस्तै प्रदेश, ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहको सरकार मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउनुु पर्नेमा जोड दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि तीनै तहको सरकारबीच समन्वय गर्ने ऐन बनाउन नसकेको भन्दै संघीय सरकारको आलोचना गरे।
‘संघीयतामा सबै विषयहरु बुलेट रेल झैं कुदोस् भन्ने हाम्रो भावना हो,’ उनले भने, ‘ तर, त्यसो हुन देशकै अवस्थाले पनि फरक पर्दोरहेछ। त्यसैले केही सुस्त भएको हो। डिरेल भएको भने होइन् ।’
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको एकात्मकवादी चिन्तनले संघीयता कार्यान्वयन गर्न समस्या भएको आरोप लगाए। ‘गलत व्याख्या गरेर विवाद सृजना गर्नुभन्दा त्यसलाई कार्यान्वयन गर्न तर्फ लाग्नुपर्छ,’ उनले भने, ‘संविधानले सबैको अधिकारको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन कसरी गर्दै लैजाने भन्ने नै मुख्य चुनौती हो।’
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारलाई मात्रै सबै दोष दिन नहुने तर्क राखे।
‘२५० वर्षदेखिको वैचारिक सोचलाई बदल्न केन्द्र वा प्रदेश सरकारमा रहेकाहरुको चाहनाले मात्रै हुँदैन,’ उनले भने ।
उनले केन्द्रिकृत मानसिकता बोकेका विश्लेषक र विज्ञहरुको सोचलाई पनि परिवर्तन गर्न सके मात्रै संघीयता कार्यान्वयनमा सहजता आउने बताए।
कार्यक्रममा सुदुपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट भने उपस्थित भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।