काठमाडौं- नेपालयले सञ्चालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुअरीदेखि सुरु हुने भएको छ। सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन्।
पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोतासामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ।
अंग्रेजी महिनाको अन्तिम शुक्रबार हुने गरेको पलेँटी कार्यक्रम यसपालि भने महिनाको अन्तिम सप्ताहन्त– शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको नेपालयले जानकारी गराएको छ।
‘लामै ग्यापपछि पलेँटी थालिँदै छ। जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी सुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन्,' पलेँटी संयोजक आभासले भने, 'यही क्रममा पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो। त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः सुरु गर्न लागेका हौं।’
आउँदो शुक्रबार सुरु हुने यसपालिको पलेँटी महिला गायनमा आधारित हुनेछ।
यसपालीको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झनेछिन्।निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुत भएका अग्रज गीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुत गर्दै आएकी पलेँटीसँग सम्बन्धित गायिका हुन्। उनले यसपालि प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन्।
‘नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न पलेँटीले मलाई अभ्यस्त गरायो। यो मेरो संगीतको विद्यालय पनि हो,' उनले भनिन्, 'यो विद्यालयको मञ्चमा बस्न पाउँदा म सधैं उत्साहित हुन्छु।'
फेब्रुअरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आरशाला’मा प्रस्तुत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।