काठमाडौं – नेपाली विद्यार्थी संघको तदर्थ समिति ३२ वर्षे उमेरहद कायम गरी गठन गर्न संघका विद्यार्थी नेताहरुले पार्टीलाई दबाब दिएका छन् । निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले समूहका विद्यार्थी नेताहरुले पत्रकार सम्मेलन गरी उमेर हद लागू गरी तदर्थ समिति गठन गर्न सुझाएका हुन्।
पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले पार्टीमा असहमति रहँदारहदै पनि ने.वि.संघमा ३२ बर्षे उमेरहद लागू गरिएको बताए। उनले भने, ‘अब त्यसको कार्यान्वयन गर्नु पहिलो शर्त हो ।’ निर्वाचित कार्य समितिले १२औं महाधिवेशन गर्ने वातावरण निर्माणका लागि संघको मूल नेतृत्व र पार्टीले असहयोग गरेको आरोप लगाइएको छ।
ने.वि.संघको विधानको व्यवस्था र राजनीतिक मर्मअनुरुप तत्काल तदर्थ समितिको गठन गरी संगठनलाई निकास दिन काफ्लेले पार्टी नेतृत्वलाई आग्रह गरे। पार्टी नेता र तथा संघका नेताहरुले विधानलाई आपूm अनुकुल व्याख्या गरिएको भन्दै आपत्ति जनाइएको छ।
स्ववियू निर्वाचनमा २८ बर्षे उमेर हद लागू भएको छ। नेविसंघको २१ जिल्लामा ३२ बर्षे हदवन्दी अनुरुप जिल्ला अधिवेशन सम्पन्न भइसकेकाले उमेरहदबाट पछि फर्कने नमिल्ने काफ्लेले बताए।
तदर्थ समितिमा सबै पक्षका विद्यार्थीहरुलाई प्रतिनिधित्व समान रुपमा गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको छ। ‘हामी जहाँ–जहाँबाट विद्यार्थीको प्रतिनिधित्व गरेर आएका थियौं, त्यसको प्रतिबिम्व तदर्थ समितिमा नहुदां संगठनमा देखिनुपर्छ,’ उनले भने।
संघको ११ औं महाधिवेशन लगत्तै सुरु विवादले संघको गतिविधि प्रभावित हुँदै आएको थियो। पार्टीले महामन्त्री काफ्लेलाई नेतृत्वमा आउन नदिनकै लागि तदर्थ समितिको बाटो लिएको एक समूहको ठहर छ। पार्टी केन्द्रीय समितिको बैठकले संघको तदर्थ समिति बनाउन सबै पक्षसँग छलफल गरी अघि बढ्न पार्टी सभापति शेर बहादुर देउवालाई अधिकार दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।