काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समिति गठन गरेको छ।
सोमबार बसेको त्रिवि पदाधिकारी बैठकले शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समिति बनाएको विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतीले जानकारी दिए।
त्रिविको क्यालेन्डरअनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
समिति बनाइएको भएपनि निर्वाचनको मिति भने अझैं अनिश्चित छ। रजिष्टार उप्रेतीले समितिले विद्यार्थीसँग छलफल गरेर नयाँ मिति तय गर्ने बताए।
‘निर्वाचन मिति अझै निश्चित भएको छैन्,’ उप्रेतीले नेपाल लाइभसँग भने, ‘समितिले विद्यार्थी संगठनहरूसँग छलफल गरेर मिति तय गर्छ। हामी फागुन १४ को एक हप्ताभन्दा उता जान सक्ने अवस्थामा छैनौं।’
यसअघि तोकिएको मितिमा स्ववियु चुनाव गर्न विद्यार्थीले जाँगर नदेखाएपछि त्रिविले निर्वाचन तालिका समेत घोषणा गरेको थिएन।
चुनाव हुनुभन्दा एक महिना अघि नै निर्वाचन तालिका घोषणा गर्नुपर्ने हुन्छ।
तोकिएको मितिमा चुनाव नहुने अवस्था आएपछि विद्यार्थी संगठन भने आरोप-प्रत्यारोपमा उत्रिएका छन्। उनीहरु एक संगठनले अर्कालाई चुनाव नचाहेको आरोप लगाउने गरेका छन्।
सत्तारुढ दलका विद्यार्थी संगठनको घेराउ
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आज उपकूलपतिको कार्यालय घेराउ गरेका छन्।
स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिँदै उनीहरुले सोमबार विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घन्टा घेराउ गरेका हुन्।
विद्यार्थीले घेराउ गरेपछि त्रिविले निर्वाचन गराउने भन्दै समिति गठन गरेको हो।
नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकूलपतिले गरेपछि त्यसको विरोधमा उपकूलपति कार्यालय घेराउ गर्नु परेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी बताए।
उनले चैत १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारी विरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।
त्रिविले भने परीक्षाका कारण तालिका ‘प्याक' रहेको भन्दै स्ववियु निर्वाचन फागुन १४ को एक हप्ताभन्दा उता सार्न नसकिने बताइरहेको छ।
फागुन महिनाभित्रै निर्वाचन नगराए विद्यार्थीको परीक्षाको कार्यतालिका प्रभावित हुने भन्दै त्रिविले त्यसो गर्न नसकिने बताउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।