चितवन- स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीविकोपार्जन गर्दै आएका छन्। यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन्।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ। तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना रहेका छन्।
यसैगरी खैरहनी नगरपालिकाका ८ जना, रत्ननगर नगरपालिकाका ४ जना र माडी नगरपालिकाका १ जना रहेका छन्। अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३ सय जनाले अनुमति लिएको उनले बताए।
हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका रहेका छन्। उनीहरुको परम्परागत पेसा माछा मार्ने हो।
अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन्। यद्यपि यस आर्थिक वर्षमा महाजालमा परेर ३ वटा गोही राप्ती नदीमा मरेका छन्। गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो। यसले नारायणी र राप्तीमा लुकीछिपी महाजाल प्रयोग भइरहेको देखिन्छ।
नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन। यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने मत राखिन्। यही पेसाबाट जीवनस्तर उकास्न सम्भव नहुने भएकाले राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहालकाे भनाइ छ।
विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो। घडियाल गोहीले माछा मात्रै खाने गर्दछ। मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।