दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले समृद्धिको नभई भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए।
तनहुँको व्यास नगरपालिका-११, बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेसका वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टाचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने आराेप लगाएका हुन्। पौडेलले भने, ‘ओलीजीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ। सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन। मुलुकमा अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टाचार र बेथितिको बाटोमा अघि बढेको छ।’
वरिष्ठ नेता पौडेलले कांग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सम्पूर्ण नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले महासमितिबाट पास भएको विधानले निमुखा कांग्रेस कार्याकर्ता तथा अवसर नपाएका कार्याकर्तामाथि न्याय गर्ने आश्वसन दिए। पौडेलले विगतमा आफू बढी राष्ट्रिय राजनीतिमा केन्द्रित हुनुपरेका कारण जिल्लामा समय दिन नसकेको स्वीकार गर्दै अब मुलुकको राजनीतिक मुद्दा टुंगो लागेका कारण फुर्सद भएकाले जिल्लामा समय दिने प्रतिबद्धता जनाए।
‘हिजोका दिनमा बढी राष्ट्रिय राजनीतिमा केन्द्रित हुनुपर्यो। संविधान बनाउन सदनमा बढी व्यस्त भएर आउन सकिन। अब तनहुँलाई समय दिन्छु’, पौडेलले भने।
नेता पौडेलले लोकतान्त्रिक संविधान निर्माणका लागि आफूहरुले ठूलो लडाइँ लड्नु परेको उल्लेख गर्दै विपि कोइराला, सुर्वण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुको २००७ सालदेखिको संविधानसभामार्फत संविधान बनाउने सपना आफूहरुले पूरा गरेको जिकिर गरे।
‘संविधान बनाउने क्रममा राष्ट्रलाई छिन्नभिन्न बनाउने प्रयास भएको थियो। त्यो कांग्रेसले रोक्यो। संविधान बनेपछि आम चुनाव कांग्रेसले गरायो', उनले भने, 'संविधानसँग असहमति राख्ने शक्तिलाई संविधानको दायारामा ल्यायौं, तर चुनावमा कांग्रेस हार्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।