काठमाडाैं- फिल्म ‘पुरानो बुलेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडाैंमा एक कार्यक्रमका बीच सार्वजनिक फिल्मको ट्रेलरमा बुलेट बाइक चढ्ने युवकको जीवनमा आउने उतारचढाव प्रस्तुत गरिएको छ।
अभिनेता अनुपविक्रम शाही र दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य अभिनय रहेको फिल्म पुरानो बुलेट चैत १ गतेबाट प्रदर्शनमा आउने छ। फिल्मको ट्रेलरमा अभिनेता शाहीलाई बुलेट राजा र अभिनेत्री सिवाकोटीलाई बुलेट रानीका रूपमा देखाइएको छ।
भीषण राईको निर्देशन तथा सान्तोष राई र निर्देशककै लेखन रहेको फिल्ममा अन्य कलाकारहरू कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, शिव मुखिया, दिवज राईलगायतको अभिनय छ।
फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोषले साझेदारी गरेका छन्। सन्तोष फिल्मका कार्यकारी निर्माता हुन्। फिल्ममा अशोककुमार राई (अशोक साम्पाङ), दीपेन्द्र लिम्बू, वीरेन साम्बा र टीकाराम राई निर्माता छन्।
उत्तमजङ्ग लिम्बू, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घलेको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रवीण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी देख्न सकिन्छ।
फिल्ममा पूर्वी नेपालको वास्तविक जनजीवन प्रस्तुत गरिएको फिल्म युनिटको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।