इश्लामावाद- वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार भब्य स्वागत गरेको छ। युवराज सलमानका लागि रेड कार्पेटसहितकाे स्वागत गरिएकाे थियाे।
'एमबिएस' भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको सिलसिलामा वर्तमान इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको प्रतिवद्धता जनाउने अनुमान गरिएको छ।
उनले एसियाका ५ देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो। तर, मलेसिया र इन्डाेनेसियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ।
साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक सन् २००६ मा यसपटक जस्तै धुमधामसँग लिइएको थियो, जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए।

इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताइएको छ। भारतले काश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण भएकाे हो। यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो सहयोगको महसुस भएको छ।
१ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिमरुपमै बुक गरिएका थिए।
दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्ने छन्। यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन।

पाकिस्तानकाे केन्द्रीय बैंकसँग विदेशी मुद्रा सञ्चयअन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ।
गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन्, ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस्। उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन्।
अबुधावीका युवराज मोहम्मद विन जायद अल नयानको भ्रमण लगत्तै युवराज मोहम्मद बिन सलमानको भ्रमण हुन लागेको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।