जनकपुर– महोत्तरीपछि धनुषामा पनि बालुवा, ढुंगा र गिट्टीको अवैध ढंगले उत्खनन तथा निकासी गर्ने क्रसर उद्योग बन्द गराउने निर्णय गरिएको छ।
जिल्ला समन्वय समिति धनुषाको आइतबार बसेको बैठकले जिल्लामा अवैध रूपमा सञ्चालित क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो। केन्द्रीय परिपत्रअनुसार सो निर्णय गरिएको हो।
समितिले आइतबारै एक विज्ञप्ति जारी गरी जिल्लाभित्र मापदण्डविपरीत सञ्चालित क्रसर र प्रशोधन उद्योगलाई बन्द गराउन सम्बन्धित नगरपालिका, गाउँपालिका, उत्खनन, संकलन तथा निकासी गर्ने गराउने कार्यमा संलग्न हुनेलाई निर्देशन दिएको छ।
समिति उपप्रमुखको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेकाले हाललाई जिल्लाभित्रका सम्पूर्ण क्रसर र प्रशोधन उद्योग बन्द गर्न निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
मापदण्ड पुगेका उद्योगका हकमा पुनः समितिले अर्को निर्णय गर्र्नेे जनाइएको छ। विज्ञप्तिमा जिल्लामा सञ्चालित ठूला तथा साना भौतिक पूर्वाधार निर्माण तथा व्यक्तिगत प्रयोजनका लागि समेत नदीजन्य पदार्थको सहज आपूर्तिका लागि कानूनसम्मत व्यवस्था गरिने जानकारी दिइएको छ।
अनुगमन समिति संयोजक एवं जिसस उपप्रमुख दीपक झाले निर्णय कार्यान्वयनका लागि समितिसँग आबद्ध भएकालाई आइतबार नै पत्र पठाइसकिएको बताए।
उनले सोमबारबाट स्थानीय तह, क्रसर उद्योग, प्रशोधन उद्योग, संकलक तथा निकासीकर्तालाई पत्र पठाइने जानकारी दिए।
निर्णय कार्यान्वयन नभएको खण्डमा स्थानीय प्रहरी प्रशासनको सहयोगमा उद्योगस्थलमै गई बन्द गराउने झाले बताए। समितिको तथ्यांकअनुसार जिल्लामा ९ वटा क्रसर दर्ता भई सञ्चालनमा छन्।
तीमध्ये एउटाको मात्र नवीकरण भएको छ। तर, जिल्लाभित्र दर्जनौं क्रसर उद्योग र प्रशोधन उद्योग सञ्चालनमा छन्।
प्रशोधन उद्योगको सही तथ्यांक अहिलेसम्म समितिसँग छैन। यता प्राकृतिक स्रोत संरक्षणकर्मीले भने जिससको निर्णय साहसिक र स्वागतयोग्य भएको टिप्पणी गरे।
तर, कार्यान्वयनमा इमान्दारी नअपनाइए निर्णयको अर्थ नहुने उनीहरूले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।