काठमाडौं– गायक पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई दबाब दिएर युट्युबबाट हटाउन लगाइएको विषयमा विवेकशील नेपाली पार्टीले आपत्ति जनाएको छ।
आइतबार एक विज्ञप्तिमार्फत् सत्तासीन दलका जिम्मेवार व्यक्तिले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको भन्दै पार्टीले विरोध गरेको छ।
शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत पार्टीले अपिल गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ' नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। संविधानको परिधिभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु एक जिम्मेवार संगठनको जिम्मेवारी हो। गायक पशुपति शर्माको गीतलाई सरकार अनि सरकार समर्थक दलका निकट व्यक्तिहरू अनि संगठनहरूबाट दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण भएको छ।'
आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत पार्टीले आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।