काठमाडाैं- उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सद्भाव कायम हुनेगरी देशभक्तिको भावना विकास गर्न जरुरी रहेको पनि स्पष्ट पारे।
आइतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा आयोजित राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासमा कहिल्यै पराधीन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पुर्याउने काममा अझै क्रियाशील भएर लागिपर्न राष्ट्रिय सेवा दललाई पनि सचेत गराए।
त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सेवा देलले मुलुकको देशभक्तिपूर्ण भावनाको जर्गेना गर्न उल्लेखनीय योगदान दिँदै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
उपप्रधानमन्त्री पोखरेलले मुलुक बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिले युक्त रहेको स्मरण गराउँदै सबै जातिका समुदायलाई समान सम्मान गरेर अघि बढ्न सरकार तयार रहेको पनि स्पष्ट पारे।
दिक्षान्त कवाज कार्यक्रममा दलको प्रशिक्षणसम्बन्धी अभ्यास खेलहरु पनि प्रस्तुत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।