काठमाडाैं- सरकारले फागुन ७ गते ६९औं प्रजातन्त्र दिवसको दिन सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ।
६९औं प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार–प्रसार उपसमितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन देशभरका सबै सरकारी तथा निजी सञ्चार माध्यमहरु एफएम रेडियो तथा टेलिभिजनहरुलाई प्रजातन्त्र दिवससम्बन्धी सूचनामूलक सामग्री प्रशारण गर्न आह्वान गरेको हो।
त्यसैगरी उपसमितिले छापा सञ्चार माध्यमहरुलाई सो दिन प्रजातन्त्र दिवससँग सान्दर्भिक लेख, रचनालाई उच्च प्राथमिकता दिई प्रकाशन गर्न पनि उपसमितिले आग्रह गरेको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोह कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने निर्णय पनि गरिएको उपसमितिमा सदस्य सचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए।
सो दिन गोरखा पत्र दैनिकले भने प्रजातन्त्र दिवस विशेषांक निकाल्नेछ। प्रजातन्त्र दिवसकै अवसर पारेर फागुन ६ गते बेलुका रेडियो नेपालले परिसंवाद कार्यक्रम प्रशारण गर्ने निर्णय पनि उपसमितिले गरेको छ।
उपसमितिले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकाे मूल समारोह समितिले गरेको निर्णयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव गुरुङले बताए।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिले आगामी फागुन ६, ७ र ८ गते देशभर तथा मुलुकबाहिर रहेकोे नेपाली कूटनीतिक नियोगहरुमा पनि प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ।
फागुन ७ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुने तय भएकाे छ। समारोहमा विशेष अतिथिको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रजातन्त्र दिवस मूल समारोह समितिको सदस्यको रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनेछन्।
विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। सरकारले यस वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रुपमा प्रजातन्त्र दिवस मनाउन लागेको हो। यसलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।