पाँचथर- शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन्।
दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो। चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन्। घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा पठाइएकाे छ।
पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ। यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि ८ जना घाइते भएका छन्।
स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेका मानिस घाइते भएका हुन्। उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ।
त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ पर्दा घाइते भएका छन्। चट्याङका कारण शरीरको विभिन्न भागमा चोट लागेका उनी जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात् घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।