बुटवल– विभागीय टिम एपिएफ क्लबलाई स्तब्ध बनाउँदै झापा-११ ले बुटवलमा सुरु भएकाे तिलोत्तमा गोल्डकपमा विजयी सुरुवात गरेको छ।
२१औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत देवीनगरस्थित एन्फा एकेडेमीको रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा झापा-११ ले एपिएफलाई २–० गोल अन्तरले पराजित गरेकाे हाे।
खेलमा झापा-११ का कप्तान कर्ण लिम्बुले बुद्धबल तामाङको पासमा ८औं मिनेटमा पहिलाे गोल गरेका थिए।
पहिलो हाफमा एक गोलले अग्रता लिएको झापाका लागि दोस्रो हाफको पाँचौं मिनेटमा बुद्धबल तामाङले अर्को गोल थपेका थिए। एपिएफका तर्फबाट भएका आधा दर्जन पोष्ट चार्ज खेर गएका थिए।
विभागीय टिमलाई हराएकाे झापा-११ले दाेस्राे चरणमा यही फागुन ८ गते क्यामरुनको दाफिन्स फुटबल क्लबसँग भिड्नेछ।
शनिबारको खेलको 'म्यान अफ दि म्याच' कर्ण लिम्बु घाेषित भए। उनले नगद १० हजार पाए।
प्रतियाेगिताअन्तर्गत आइतबार सुनसरी-११ र आयोजक रुपन्देही-११ बीच खेल हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका महासचिव लोक पुनले जानकारी दिए।
यसअघि प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका थिए।
प्रतियोगितामा दुई विदेशी टिमहरु क्यामरुनको दाफिन्स एफसी र भारतको दार्जिलिङ युनाइटेड क्लब सहभागी रहेकाे आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले जानकारी दिए।
फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार, उपविजेताले ५ लाख ५० हजार, प्रतियोगिता अवधिकै उत्कृष्ट खेलाडीले स्कुटर तथा विभिन्न ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँका दरले नगद पुरस्कार पाउनेछन्।
२०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको गत वर्षको उपाधि थ्रीस्टार क्लबले जितेको थियो। साविक बिजेता थ्रीस्टार भने अन्य प्रतियोगितामा सहभागी भएकाले याे सिजनकाे तिलोत्तमा गोल्डकप खेल्न आउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।