काबुल- अफगानिस्तानका विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता कम्तीमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन्।
तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबार ६ लडाकूको मृत्यु भएको र अन्य ५ जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले बताए।
त्यस्तै सुरक्षाकर्मीले उरुजगानमा शुक्रबार राति गरेको सुरक्षा कारबाहीमा २२ जना विद्रोही लडाकूको मृत्यु भएको र १६ जना घाइते भएका सुरक्षा अधिकारी जैनुल्लाहले जानकारी दिए।
यसैगरी उत्तरी सारी पुल प्रान्तको सायद जिल्लामा २३ विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।
दक्षिणी कान्दाहारमा तालिवान विद्रोहीको आक्रमणमा परी एक प्रहरीसहित एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले बताएको छ।
तालीवान समूहले यी घटनाबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।