जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धिका लागि समाजका हरेक वर्ग, जातधर्म र तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन्।
संघीय समाजवादी फोरम नेपाल महोत्तरीद्वारा शनिबार जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले समाजमा समानताको अनुभूति नभएसम्म समृद्धिको आकांक्षा सपनामात्र हुने भएकाले प्रदेश सरकार समानताका लागि काम गर्न अघि बढेको दाबी गरे।
विभेदमा परेका मधेसी, महिला, मुस्लिम, आदिवासी, जनजातिलगायतलाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले बताए।
मुख्यमन्त्री राउतले बेटी पढाऊ, बेटी बचाऊँ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान, दलित सशक्तीकरण ऐन, मदरसा शिक्षा बोर्डजस्ता कार्यक्रमबारे चर्चा गर्दै ती कार्यक्रमले समाजमा समानता ल्याउने विश्वास व्यक्त गरे।
फोरम उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले समानता र समावेशिताका सबालमा पार्टीको धारणा स्पष्ट रहेको दाबी गरे।
पार्टीका महोत्तरी अध्यक्ष रामनरेश रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी राजनीतिक समिति सदस्य हरिनारायण यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहालगायतले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।