काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको आरोप लगाउँदै परिवारजनले किटानी जाहेरी दिँदै छानबिनको माग गरेका हुन्।
माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक उक्त सवारी दुर्घटना भएको थियो। सिडिओ गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताएका छन्।
उनका अनुसार घटना भएको तीन साता पुगिसक्दा पनि सामान्य केरकारबाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन। उक्त घटनामा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने सिडिओ भट्टराई हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।