अबुजा- राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन्।
राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएकामध्ये २२ जना बालबालिका र १२ जना महिला छन्।
घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाइ छ। घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
स्थानीय सामुदायिक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्किन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले जानकारी दिए।
निर्वाचनको दिन नजिकिँदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन्।
नाइजेरियामा आजका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडि सारिएको छ। निर्वाचन हुने दिनको केही घन्टाअगाडि सूचना जारी गर्दै निर्वाचन पछाडि सारेर फेब्रुअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।