काठमाडौं– आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टिम थाइल्यान्ड प्रस्थान गरेको छ। नेपाली टिम शनिबार मध्याह्न थाइल्यान्ड प्रस्थान गरेको हो।
यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको शुक्रबार घोषणा गरिएको थियो। टिममा रुबिनासहित सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् ।
टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन्।
सात टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेल नेपालले यही फागुन ७ गते मलेशियासँग खेल्नेछ। त्यस्तै दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग खेल्ने नेपालले १० गते संयुक्त अरब इमिरेट्स (यूएइ), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ।
नेपाली टिममलाई शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, पुरुष क्रिकेट टिमको प्रशिक्षक जगट टमाटाले विदाई गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।