काठमाडौं– नेपाली महिला राष्ट्रिय टिमको पहिलो पटक उपाधि जित्ने लक्ष्य चकनाचुर भएको छ।
भारतको उडिसामा भएको हिरो गोल्डकप महिला फुटबलको उपाधिका शुक्रबार भएको भिडन्तमा म्यानमारसँग पराजित भएपछि नेपालकको उपाधि जित्ने लक्ष्य असफल भएको हो।
भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई म्यानमारले ३–१ गोलले पराजित गरेको हो।
पहिलो हाफको अन्त्यमा म्यानमारले गोल गर्दै खेलमा अग्रता लिएको थियो। तर नेपालले इन्जुरी टाइममा बराबरी गोल फर्काउन सफल भयो। नेपालका लागि मन्जली योञ्जनले बराबरी गोल फर्काएकी थिइन्।
खेलको ५४ मिनेटमा म्यानमारले गोल गरेर दोस्रो पटक अग्रता लिएको थियो। ६३ मिनेटमा म्यानमारले तेस्रो गोल गर्दा नेपाल खेलमा ३–१ ले पछि परेको थियो।
नेपाल र म्यानमारबीच पछिल्लो तीन महिनामा तेस्रो पटक प्रतिस्पर्धा भए हो। प्रतियोगिताको समूह चरणको खेलमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो। गत नोभेम्बरमा यांगुनमा भएको ओलम्पिक छनोटको खेल भने १–१ को बराबरीमा सकिएको थियो।
लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो। प्रतियोगितामा म्यानमार अपराजित रहँदै ९ अङ्कका साथ फाइनल प्रवेश गरेको थियो। तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमारसँग उपाधि भिडन्त पक्का गरेको थियो। नेपालले समूह चरणमा भारत र इरानलाई हराएको थियो।
विराटनगरमा हुने साफ च्याम्पियनसिप र म्यानमारमा हुने ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा आयोजक भारतसँगै म्यानमार, इरान र नेपालबीच समूह चरणमा प्रतिस्पर्धा भएको थियो। शीर्ष २ टिम फाइनलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।