विराटनगर– प्रदेश १ को उदयपुर ‘साक्षर जिल्ला’ घोषणा हुने भएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार जिल्लालाई ‘साक्षर जिल्ला’ घोषणा गर्नेछन्।
सदरमुकाम गाईघाट बजारस्थित भगवती मन्दिर परिसरमा रहेको साक्षर स्तम्भसमेत अनावरण गरिने अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए।
साक्षर जिल्ला घोषणाका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा भएकाले औपचारिक रुपमै घोषणाको तयारी गरिएको उनले बताए।
साक्षर जिल्ला घोषणाका लागि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतले आफू र आफ्नो परिवारको नाम लेख्न, हस्ताक्षर गर्न, सामान्य हिसाबकिताब राख्न, मोबाइल र क्यालकुलेटरबाट अंक र अक्षर चिनेर प्रयोग गर्न, १ देखि १ सयसम्म गणना गर्न, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथि/मिति बनाउन सक्नुपर्ने प्रावधान।
न्यूनतम मापदण्डभन्दा १ दशमलव ३२ प्रतिशत बढी साक्षर भइसकेको परियारले उदयपुरका ९६ दशमलव ३२ प्रतिशत सर्वसाधरण साक्षर भइसकेको जानकारी दिए। १५ देखि ६० वर्ष उमेर समूह १ लाख ७४ हजार १ सय ८ जना मध्ये १ लाख ६७ हजार ७ सय ६ जना साक्षर भइसकेको पनि परियारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।