काठमाडौं– थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ।
यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो। छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् ।
त्यस्तै वैकल्पिकतर्फ चार खेलाडी छनोटमा परेका छन् । रितुकुमारी कनौजिया, सुमन विष्ट, अञ्जली चन्द र डोली भट्ट छन् । टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन् ।
विभिन्न सात टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेल नेपालले यही फागुन ७ गते मलेशियासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग खेल्ने नेपालले १० गते संयुक्त अरब इमिरेट्स (यूएइ), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ।
नेपाली टोली भोलि थाइल्याण्ड प्रस्थान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।