कावासोती- विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा २ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ।
९ दिनसम्म चलेको महायज्ञमा १ करोड ३५ लाख ६५ हजार रुपैयाँ बराबर नगद सङ्कलन भएको छ। करीब ७० लाख रुपैयाँ बराबरको भूमिसमेत दानस्वरुप प्राप्त भएको आर्थिक समिति संयोजक यमबहादुर थापाले जानकारी दिए। ग्रामीण क्षेत्रका विद्यार्थीले आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न सकून भन्ने उद्देश्यले विद्यालयले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको थियो।
ग्रामीण क्षेत्रका विपन्न समुदायका विद्यार्थी खर्च अभावका कारण प्राविधिक शिक्षा पढ्नबाट वञ्चित हुनु नपरोस् र अन्य विद्यार्थी पनि अन्यत्र धाउन नपरोस् भनेर महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक होमनाथ सुवेदीले बताए।
विद्यालयमा कावासोती नगरपालिकासहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थी अध्ययन गर्दै आएका छन्। विद्यालयमा ६ सय ६४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिए।
वडाध्यक्षबाट ३० लाख सहयोग
जनता माविमा भएको महायज्ञमा कावासोती नगरपालिका–६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले ३० लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग प्रदान गरेका छन्। विद्यालयको शैक्षिक गुणस्तर विकास र प्राविधिक शिक्षा प्रदान गर्ने योजनालाई सार्थकता दिनका लागि आफूले सहयोग प्रदान गरको वडाध्यक्ष पाण्डेको भनाइ छ।
उनले ५१ हजार १ सय ५१ नगदसहित करीब ३० लाख मूल्य पर्ने १३ धुर जग्गा विद्यालयलाई प्रदान गरेका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।